विदेशी पर्यटकका लागि यन्त्रमा आधारित बिमा सुरु

पछिल्ला दशक हेलिकोप्टर सेवाको तीव्र विस्तारसँगै बिमा ठगी र अनियमितता बढ्न थालेकाले हिमालयन गार्डियन नेपालले बिमा प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा विदेशी पर्यटकका लागि पूर्ण कानुनी, पारदर्शी र जिम्मेवार यन्त्र समर्थित बिमा प्रणाली सुरु गरेको जनाएको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Device-based insurance launched for foreign tourists

What you should know

काठमाडौँ — हिमालयन गार्डियन नेपाल (एचजीएन) ले नेपालकै पहिलो यन्त्रमा आधारित ब‍िमा सेवा विदेशी पर्यटकका लागि सुरु गरेको छ ।

पछिल्ला दशक हेलिकोप्टर सेवाको तीव्र विस्तारसँगै बिमा ठगी र अनियमितता बढ्न थालेकाले हिमालयन गार्डियन नेपालले बिमा प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा विदेशी पर्यटकका लागि पूर्ण कानुनी, पारदर्शी र जिम्मेवार यन्त्र समर्थित बिमा प्रणाली सुरु गरेको जनाएको छ ।

नेपाल विश्वभर साहसिक पर्यटनको अग्रणी गन्तव्यका रूपमा परिचित छ । सगरमाथा क्षेत्र, हिमाली ट्रेकिङ, पर्वतारोहण र अन्य रोमाञ्चक गतिविधिहरू सुरक्षित राख्न नेपाली गाइड र शेर्पा समुदायको योगदान दशकौंदेखि अतुलनीय मानिन्छ । तर उद्धार खर्च कृत्रिम रूपमा बढाइने, अनावश्यक मेडिकल परीक्षण गराइने र ट्रेकिङ कम्पनीहरूसँग गलत समन्वय हुने घटनाहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको बदनाम भइरहेको यसका सञ्चालक डा. धनञ्जय रेग्मीले बताए । 

नेपालमा यसलाई रोक्न कठिनाइको मुख्य कारण बिमा दाबीहरू प्रायः विदेशी कम्पनीहरूसँग दर्ता हुने र नेपाल सरकारले डेटा वा बिल जाँच्ने अधिकार नपाउने भएकाले ठगी भइरहेको रेग्मीले बताए । 'यसका कारण केही कम्पनीहरूले नेपालका लागि बिमा बेच्न बन्द गरे भने बाँकी कम्पनीहरूले अत्यधिक प्रिमियम राखेर पर्यटकहरूको कुल खर्च बढाए। यसले नेपाललाई महँगो र जोखिमपूर्ण गन्तव्यको रूपमा चिनायो,' रग्मीले भने । 

कम्पनीका अनुसार, यस प्रणालीलाई प्रुडेन्सियल इन्स्योरेन्सले अन्डरराइट गरेको छ । नयाँ प्रणालीले हेलिकोप्टर उद्धार र मेडिकल बिलमा ठगी असम्भव बनाउने, अनावश्यक उपचार र परीक्षण नियन्त्रणमा राख्ने, दाबी प्रक्रिया जीपीएस–आधारित वास्तविक डाटा अनुसार स्वीकृत हुने र झूटा दाबीहरू स्वतः अस्वीकृत हुने भनिएको छ ।

यस प्रणालीअन्तर्गत तीन प्रकारका बिमा प्याकेज उपलब्ध छन् । टूर बिमा प्याकेज ३,५०० मिटरसम्मका पर्यटकका लागि हो । जसमा चिकित्सकीय बिमा, दुर्घटना बिमा, उद्धार र अस्पताल सेवा उपलब्ध छन् । ट्रेकिङ बिमा प्याकेज ५,५०० मिटरसम्मको ट्रेकिङका लागि लागू हुन्छ । यसमा उच्च–उचाइ उपचार, हेलिकोप्टर उद्धार र रियल–टाइम ट्र्याकिङ समावेश छ। क्लाइम्बिङ बिमा प्याकेज ६,००० मिटरसम्मको उच्च–उचाइ पर्वतारोहणका लागि तयार पारिएको हो, जसमा उच्च–उचाइ जोखिम, एएमएस उपचार, आपतकालीन उद्धार, अस्पताल सेवा र उचाइ–डेटा निगरानी उपलब्ध छन् ।

यो नयाँ प्रणालीले नेपालमा वर्षौँदेखि भएको उद्धार–बिमा अव्यवस्था अन्त्य गर्ने, विदेशी पर्यटकको विश्वास पुनःस्थापित गर्ने, बिमा प्रक्रिया किफायती, पारदर्शी र विश्वसनीय बनाउने भनिएको छ । त्यस्तै, नेपालको पर्यटन उद्योगलाई सुरक्षित, नवीन र नैतिक बनाउने जनाउँदै कम्पनीले यसमार्फत नेपालले साहसिक पर्यटनमा सुरक्षा र विश्वसनीयताको नयाँ मानक स्थापना गर्ने दाबी गरेको छ ।

कान्तिपुर

Link copied successfully