छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धा गर्दैछन्।
What you should know
काठमाडौँ — एनसेलले पोखरामा आयोजना भइरहेको राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।
खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै एनसेलले सहकार्यले गरेको हो ।
विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा गत वर्ष पनि एनसेल मुख्य प्रायोजक रहेको थियो। मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ।
'टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ, जुन स्थानीय स्तरमै हुर्किने प्रतिभासँग जोडिएको छ। यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवर्द्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ,' एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।
खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने उनले बताए।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता आगामी माघ १७ सम्म पोखरा रगंशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भने, 'खेलकुदमा आफ्नो आबद्धतालाई निरन्तरता दिएर यो वर्ष पनि टाइगर कपमा हामीसँग सहकार्य गरेकोमा हामी एनसेलप्रति आभारी छौँ। यस्तै सहकार्य, सहयोग र योगदानले हामी देशकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हुन सफल भएका छौँ।'
छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धा गर्दैछन्। महिला तर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन्। पुरुष तर्फ भने गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स सहभागी छन्।
यो प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुष तर्फका टोलीले आयोजकबाट समान रूपमा प्रथम पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय पुरस्कार २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् ।
एनसेलले एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा खेलकुद विकास र प्रतिभा निखार्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। एनसेलले भलिबलबाहेक क्रिकेट, फुटबललगायतका खेलहरूको विकासमा पनि विभिन्न सहकार्य गर्दै खेलकुदको विकासमा योगदान पुर्याएको छ। आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत पनि एनसेलले पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा सहयोग गरेको छ।
