कृष्ण पाण्डेय द्वारा ५० शब्दहरू उल्टोबाट सबैभन्दा छिटो हिज्जे गर्ने विधामा कीर्तिमान कायम
काठमाडौँ — मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले सफलतापूर्वक गिनिज वर्ल्ड रेकर्ड्सको एक आधिकारिक कीर्तिमान प्रयास आयोजना गरेको छ ।
कार्यक्रममा स्मृतिविशेषज्ञ तथा पूर्व गिनिज वर्ल्ड रेकर्ड्स विजेता कृष्ण पाण्डेयले ‘५० शब्दहरू उल्टोबाट सबैभन्दा छिटो हिज्जे गर्ने’ विधामा एक उल्लेखनीय कीर्तिमान कायम गरेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमआईटीले काठमाडौं मोडल सेकेन्डरी स्कुलसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो, जसमा बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरको रूपमा थियो।
कीर्तिमानको यो प्रयास बागबजारस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा गिनिज वर्ल्ड रेकर्ड्सका सबै नियम, विनियम र प्रमाण निर्देशिकाहरूको पूर्ण पालना गर्दै सम्पन्न गरिएको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘पाण्डेले उक्त चुनौती मात्र ५१.६६ सेकेन्डमा सफलतापूर्वक पूरा गर्नुभयो, जुन गिनिज वर्ल्ड रेकर्ड्सद्वारा निर्धारित मापदण्डहरूभन्दा उत्कृष्ट र माथिल्लो स्तरको छ। प्रमाणित अधिकारीहरू र स्वतन्त्र साक्षीहरू पारदर्शिता, शुद्धता र अन्तर्राष्ट्रिय मापदण्डको सुनिश्चितताका लागि यो प्रयास प्रमाणित अधिकारीहरूको सुपरीवेक्षणमा सञ्चालन गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
