एमच्याम नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकासकामा छलफल 

एमच्याम नेपालले वैदेशिक लगानी प्रवर्द्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव दिएको हो।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

MCham Nepal and Finance Minister meet, discuss foreign investment and digital infrastructure development

काठमाडौँ — नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा एमच्याम नेपालले निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू औंल्याउँदै समाधानका व्यावहारिक उपायहरू सरकारसमक्ष प्रस्तुत गरेको छ।

एमच्याम नेपालले वैदेशिक लगानी प्रवर्द्धन, कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आठवटा प्राथमिक नीतिगत विषयमा ठोस सुझाव दिएको हो।

भेटमा एमच्याम नेपालका प्रतिनिधिहरूले नेपालमा स्वच्छ जलविद्युत् स्रोत र भौगोलिक अवस्थाका कारण हाइपरस्केल डाटा सेन्टर स्थापनाको ठूलो सम्भावना रहे पनि विद्युत् आपूर्ति स्थायित्व, उच्च क्षमताको कनेक्टिभिटी, स्वीकृति प्रक्रिया तथा नियामक स्पष्टताको अभावले ठूला विदेशी लगानी आकर्षित हुन नसकेको उल्लेख गरेका छन् ।

‘नेपाल डाटा सेन्टर लगानीका लागि स्वाभाविक रूपमा उपयुक्त मुलुक हो, तर स्पष्ट नीति र एकीकृत फ्रेमवर्क नहुँदा लगानीकर्ताहरू निर्णयमा पुग्न सकेका छैनन्। त्यसैले सरकार यस विषयमा गम्भिर हुन आवश्यक छ,’ एमच्याम नेपालका अध्यक्ष कैलाश विजयानन्दले बताए ।

अमेरिकी लगानीकर्तालाई लक्षित गरी एफडीआई–रेडी परियोजनाको संरचित पाइपलाइन तयार गर्न र लगानी प्रवद्र्धनमा एमच्याम नेपाललाई औपचारिक साझेदारको रूपमा मान्यता दिनुपर्ने माग पनि राखिएको छ।

नेपालमा विदेशी लगानी आवश्यक भएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्य मजबुत भएमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा बढ्न सक्ने अध्यक्ष विजयानन्दले बताए ।

अमेरिकी लगानीकर्तालाई लक्षित गरी एफडीआई–रेडी परियोजनाको पाइपलाइन तयार गर्न र लगानी प्रवद्र्धनमा एमच्याम नेपाललाई औपचारिक साझेदारको रूपमा मान्यता दिनुपर्ने माग राखिएको छ। भेटमा व्यवसायीहरूले भ्याट फिर्ता प्रक्रियामा सरकारले अवरोध सिर्जना गरेको कुरा पनि उठाएका छन् । भेटमा व्यवसायीहरूले भ्याट फिर्ता प्रक्रियामा देखिएको अवरोधको विषय पनि उठाएका छन्।

नेपाल राष्ट्र बैंकले भेरिफिकेसन लेटर दिन छोडिसकेको अवस्थामा समेत आन्तरिक राजस्व विभागले सो कागज अनिवार्य गरेकाले व्यवसायको नगद प्रवाहमा समस्या आएको गुनासो गरिएको छ। यसको समाधानका लागि वाणिज्य बैंकमार्फत प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि अर्थमन्त्रीसमक्ष पेश गरिएको छ ।

यसै सन्दर्भमा अध्यक्ष विजयानन्दले भ्याट फिर्ता गर्ने काम ढिला हुँदा लगानीकर्ताको विश्वास कमजोर बनाउने भएकाले यसलाई सरल र डिजिटल बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । साथै, एमच्याम नेपालले राष्ट्रिय भुक्तानी प्रणालीलाई एकल निकायमा केन्द्रित गर्ने प्रस्तावले प्रतिस्पर्धा र नवप्रवर्तनमा नकारात्मक असर पार्न सक्ने भन्दै बजारमैत्री प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ।

सौर्य ऊर्जासम्बन्धी परियोजनामा भ्याट छुट अधिकार दुई निकायमा विभाजित हुँदा ढिलाइ र अन्योल सिर्जना भएको उल्लेख गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एकद्वार अधिकार दिन सुझाव पेश गरिएको छ।

एमच्याम नेपालले स्पष्ट नीतिगत सुधार, पारदर्शी नियमन र लगानीमैत्री वातावरण निर्माण भएमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

अर्थमन्त्री खनालले एमच्याम नेपालले प्रस्तुत गरेका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायहरूसँग समन्वय गर्दै समस्याको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेको एमच्यामले जनाएको छ।

एमच्यामका अध्यक्ष विजयानन्दसहित संस्थापक अध्यक्ष अजित विक्रम शाहसँगै पदाधिकारीहरु आकाश गोल्छा, मनिस थापा, स्नेह राजभण्डारी, सुरक्षा हमाल, सचिन करनजितसहित एमच्यामका कार्यकारी निर्देशक अमीरराज थापाले अर्थमन्त्रीसमक्ष सुझाव पेश गरेका थिए ।

कान्तिपुर

Link copied successfully