केटीएम हस्पिटालिटीले साढे १५ करोड रुपैयाँको आईपीओ जारी गर्ने

कम्पनीले कुल चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्न लागेको हो।

माघ १, २०८२

कान्तिपुर संवाददाता

KTM Hospitality to issue IPO worth Rs 155 million

What you should know

काठमाडौँ — चितवनको सौराहामा  रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले १५ करोड ५० लाख रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ।

कम्पनीको दोस्रो साधारण सभाले पूँजी संरचना परिवर्तनसहित आइपीओको महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।  सभाले आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो।

पारित प्रस्ताव अनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ। अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ। कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो। कम्पनीले कुल चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्न लागेको हो।

हाल केटीएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालित यो लक्जरी रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ। कम्पनीले नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।

संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताए। हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको अध्यक्ष शाहको भनाइ छ।

त्यसैगरी, उनले केटिएम हस्पिटालिटीमा सर्वसाधारणलाई समेत सहभागिता गराएर अघि बढ्न लागेको बताए। ‘सर्वसाधारणलाई पनि पार्टनरसीप बनाएर लैजान २० प्रतिशत आइपिओ ल्याउन लागेका हौं’ उनले भने।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको पर्यटन क्षेत्रले उल्लेखिय रुपमा फड्को मारेको बताए। पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि केन्द्रीय बैंकले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ। कोभिडका बेला होस्, वा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले निर्देशनमार्फत काम गरेको बताए।

४ एकड भन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन्।केटीएम हस्पिटालिटीको आईपीओ निष्कासन नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण कदम मानिएको छ। यसले होटल उद्योगमा सार्वजनिक लगानी बढाउने र पर्यटन पूर्वाधार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो। त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरेको हो,’ केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष  शाहले भने, ‘फ्रान्सको प्रख्यात लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायजसो जनशक्ति नेपाली नै छन् । प्राविधिक जनशक्ति ब्राण्डसँग समन्वय र परामर्शमा लिइएको हो।’

चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित ४ एकड भन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन्। विशेष पुल भिला, वाटर भिला र मचान सुइटहरूले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्दछन्।

रोयल टुलिप चितवनले विश्वस्तरीय गुणस्तर र उत्कृष्ट आतिथ्यता प्रदान गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने मूल उद्देश्य राखेको छ। यसले विदेशी मुद्रा आर्जनमा वृद्धि ल्याउने मात्र नभइ स्थानीय रोजगारी सृजना, क्षमता विकास र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पु‍र्याउने विश्वास गरिएको छ।

कान्तिपुर

Link copied successfully