बैंकका अनुसार ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एप एनआइसी एसिया मो बैंक मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्।
What you should know
काठमाडौँ — एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले आयकर ऐन, २०५८ अनुसार ग्राहकहरूको खाताबाट काटिएको कर विवरण नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा समावेश गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो।
बैंकका अनुसार ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एप एनआइसी एसिया मो बैंक मा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिने कर (इटीडीएस) प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेकाले प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण सोही प्यानमा प्रविष्ट हुने बैंकले स्पष्ट पारेको छ। यसपछि आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टी विवरण मिलान गर्ने भएकाले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न ग्राहकलाई सहज हुने बैंकको विश्वास छ। यसले प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने जनाइएको छ।
बैंकले प्यान अद्यावधिक नगराएका कारण इटीडीएस मा ब्याजकर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने जानकारी पनि गराएको छ।
यसैगरी, बैंकले ग्राहकहरूलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपमा रहेको ‘माई प्रोफाइल’ भित्र ‘चेन्ज इमेल’ विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परे नजिकको शाखा कार्यालयमा पुगेर पनि ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा ग्राहकहरूले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले आग्रह गरेको छ।
