आगामी माघ ६ मा काठमाडौँ मोडेल सेकेन्डरी स्कूल , बागबजारमागिनिज वर्ल्ड रेकर्ड प्रयास हुने भएको छ ।
काठमाडौँ — बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्व गिनिज वर्ल्ड रेकर्डधारी तथा मेमोरी एथ्लेट कृष्ण पाण्डेयद्वारा आधिकारिक गिनिज वर्ल्ड रेकर्ड प्रयास हुने भएको छ। आगामी माघ ६ मा काठमाडौँ मोडेल सेकेन्डरी स्कूल, बागबजारमागिनिज वर्ल्ड रेकर्ड प्रयास हुने भएको हो ।
'फास्टेस्ट टाइम टु स्पेल ५० वर्डस् ब्याकवार्डस्' शीर्षकको यस रेकर्ड प्रयास गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड तथा प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिनेछ। कार्यक्रम एमआईटी कलेजको आयोजनामा काठमाडौँ मोडेल सेकेन्डरी स्कूलको सहकार्यमा हुँदैछ भने बेस्ट वेस्टर्न प्लसले हस्पिटालिटि पार्टनरका रूपमा सहयोग गर्नेछ।
एमआईटीका सह-संस्थापक आरके दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित तथा ध्यानभंगरहित वातावरणमा सम्पन्न गरिनेछ। कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिनेछ, र सम्पूर्ण प्रमाण सामग्री कार्यक्रमपश्चात् गिनिज वर्ल्ड रेकर्ड्समा आधिकारिक प्रमाणीकरणका लागि पेस गरिनेछ।
आयोजकहरूले यस पहलले उत्कृष्टता, अनुशासन तथा नेपाली प्रतिभाको विश्वव्यापी पहिचानप्रति दृढ प्रतिबद्धता झल्काउने बताएका छन्।
रेकर्ड प्रयासबारे कृष्ण पाण्डेयले भने, 'न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड हासिल गरेको अविस्मरणीय अनुभवपछि नेपालमै पुनः रेकर्ड प्रयास गर्न पाउनु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो। यो प्रयास केवल अर्को रेकर्ड थप्ने विषय मात्र होइन, नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले गरिएको हो। यस यात्रामा सहयोग पुर्याएको मा एमआईटी कलेज, काठमाडौँ मोडेल सेकेन्डरी स्कूल र बेस्ट वेर्स्टन प्लसप्रति म आभारी छु।'
