सिटिजन लाइफले १ अर्ब रुपैयाँ नगद लाभांश वितरण गर्ने 

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Citizen Life to distribute Rs 1 billion in cash dividend

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभाबाट १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाहृय लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । वर्तमान लेखापरीक्षक एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले समयमै साधारण सभा सम्पन्न गरी लाभांश वितरणसमेत गरेर सेयरधनीप्रतिको पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ

कान्तिपुर

Link copied successfully