प्रदर्शनी आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
What you should know
काठमाडौँ — नेसनल घर निर्माण फेस्ट–२०८२ को आयोजना तथा प्रवर्द्धनका लागि स्किल सेवा प्राली र शिवम् सिमेन्ट लिमिटेडबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने फेस्टमा शिवम् सिमेन्ट ‘प्लाटिनम स्पोन्सर’का रूपमा आबद्ध हुनेछ।
घर निर्माण, परामर्श र प्रविधिमुखी राष्ट्रिय स्तरको यो प्रदर्शनी आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ।
घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गर्दै आयोजना हुने फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श र सामग्री एकै थलोमा प्रस्तुत गरिनेछ। साथै देशभरका निर्माण व्यवसायी र नवीन प्रविधिहरूको सहभागिता रहने आयोजकको भनाइ छ। कार्यक्रममार्फत गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको छ।
फेस्टको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने लक्ष्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जनाइएको छ। यसले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचान अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
नेसनल घर निर्माण फेस्ट–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा उपभोक्ताबीच घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको शिवम् सिमेन्टले राष्ट्रिय गौरवका आयोजना तथा ठूला पूर्वाधार परियोजनामा लामो समयदेखि योगदान पुर्याउँदै आएको छ। हेटौंडामा अवस्थित उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ।
नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्ट उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवाका कारण उपभोक्तामाझ विश्वासिलो ओपीसी सिमेन्टका रूपमा स्थापित भएको कम्पनीको दाबी छ। विभिन्न चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर सेवा उपलब्ध गराउँदै आएको शिवम् सिमेन्टले देशको भौतिक पूर्वाधार विकासमा योगदान पुर्याउँदै आएको छ।
