आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
काठमाडौँ — सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति गठनसँगै दिनेशबहादुर विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।
६ दशकदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको पाँचतारे डिलक्स होटल सोल्टीको सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।
आव २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
सभाले आव २०८२/८३ का लागि जे.बी. राजभण्डारी एन्ड डिभिन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ। समितिमा संस्थागत सेयरधनीतर्फ ५ जना, सर्वसाधारण सेयरधनीतर्फ ३ जना र १ जना स्वतन्त्र सञ्चालक छन्। संस्थागत सेयरधनी सोल्टी इन्टरप्राइजेज प्रालिको तर्फबाट दिनेशबहादुर विष्ट, रविभक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह सञ्चालक नियुक्त भएका छन्। नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालक बनेका छन्।
सर्वसाधारण सेयरधनीतर्फ प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिबरेवाला सञ्चालकमा निर्वाचित भएका छन् भने डा. माधव गिरी स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् ।
साधारणसभा सम्पन्न भएलगत्तै बसेको नवगठित सञ्चालक समितिको २६१औँ बैठकले सर्वसम्मत रूपमा दिनेशबहादुर विष्टलाई कम्पनीको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
