नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारणसभाले सो अवधिमा आगामी मोबिलिटी एक्स्पो गर्ने निर्णय गरेको हो ।
What you should know
काठमाडौँ — आउँदो २०८३ साउन २६ देखि ३१ सम्म नाइमा मोबिलिटी एक्स्पो हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को पहिलो वार्षिक साधारणसभाले सो अवधिमा आगामी मोबिलिटी एक्स्पो गर्ने निर्णय गरेको हो ।
अध्यक्ष श्रीमति रितु सिंह वैद्यको अध्यक्षतामा गत साता सम्पन्न पहिलो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन ।
‘बिगत नौ महिनामा हासिल उपलब्धीहरु प्रस्तुत गर्दै पहिलो नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ को सफल आयोजना भयो,’ उनले भनिन, ‘यसले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भुमिकालाई अझ बृहत्तर र विश्वसनिय बनाएको छ ।’
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गरे । संस्थाको दीर्घकालिन उद्देश्य हाासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता उनले दोहोर्याएका थिए ।
सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य श्री आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुपलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ ।
