गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको ईएसएडीई युनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययनपछि ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले ग्रुपअन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

37-year-old Akshay Golyan appointed as chairman of Golyan Group

काठमाडौँ — व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् ।

ग्रुपले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ ।

पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए ।

‘अक्षय गोल्यान अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्यान ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको ईएसएडीई युनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययनपछि ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले ग्रुपअन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेको  विज्ञप्तिमा उल्लेख छ । 

गोल्यान ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो ।

६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत रहेको विज्ञप्तिमा जनाइएको छ। ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी छ ।

कान्तिपुर

Link copied successfully