लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति
काठमाडौँ — इटहरी इन्टरनेशनल कलेजले इटहरीको सोल्टी वेस्टेन्डमा आफ्नो वार्षिक दीक्षान्त समारोह गरेको छ।
सोमबार आयोजित समारोहमा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो ।
कार्यक्रममा स्नातकहरूको उपलब्धि र भविष्यका सम्भावनाबारे विशेष चर्चा गरियो। समारोहमा यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।
कलेजका अनुसार, यी छात्रवृत्तिहरू विद्यार्थीहरूको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो।
आइएनजी कलेज समूहले उनीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ–समर्थन रहने प्रतिवद्धता व्यक्त गरेको छ।
विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता रहेको आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले जनाए ।
आइएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई उल्लेख गर्दै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिष्टोफर लेनले कलेज र विद्यार्थीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरे।
कलेजले यो समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार आयोजना गरिएको र भविष्यमा पनि शैक्षिक गुणस्तर एवम् विद्यार्थीको क्षमतामाथि केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
