क्रिकेटलाई कक्षा कोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरू सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने भएको हो ।
What you should know
काठमाडौँ — बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिएका चौकाहरूबापत एनसेल फाउन्डेसनले २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
क्रिकेटलाई कक्षा कोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरू सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने भएको हो ।
गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो पहलअन्तर्गत एनसेलले सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ ।
मंसिर १८ सम्म खेलिएका एनपीएल सिजन २ का खेलमा ९० खेलाडीले कुल ५ सय १० चौका प्रहार गरेका छन् । यसले २ हजार ४० वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेको एनसेलले जनाएको छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन २७ चौकासहित अगाडि छन् । यसले १ सय ८ वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेको छ । लुम्बिनी लायन्सका डार्सी सर्टले १९ चौका हानेर ७६ शैक्षिक सामग्रीमा योगदान गरेका छन् । काठमाडौँ गोर्खाजका बेन चार्ल्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन् । उनीहरूले १७, १७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।
विद्यार्थीहरूलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, सार्पनर, इरेजरलगायत सामग्री समावेश हुने फाउन्डेसनले जनाएको छ । 'बिहीबारसम्मका खेलमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा योगदान पुर्याउने प्रत्येक खेलाडीलाई हामी बधाई र धन्यवाद दिन चाहन्छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन्, 'बाँकीका खेलहरू अझ रोमाञ्चक हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ । यसले खेल मात्र होइन, शिक्षामा हुने योगदानलाई पनि थप विस्तार गर्नेछ ।'
