नास आईटी एक्सपो सम्पन्न: सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले पहिलोपटक आयोजना गरेको ‘आईटी एक्सपो २०२५’ मा लाइभ पिच डेक सत्रमार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू प्रस्तुत गरे ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

NAS IT Expo concludes: Emphasis on collaboration, innovation, and promotion

काठमाडौँ — कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा स्वदेशी प्रविधि कम्पनीहरूको प्रदर्शनी सञ्चालन भएको थियो ।

एक्सपोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ । ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्न खोजेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।’

एक्सपोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थीलगायत प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति थियो । दुई दिनको अवधिमा २५०० भन्दा बढीले एक्सपो अवलोकन गरेको नास आईटीले जनाएको छ । 

एक्स्पोमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए । प्रदर्शनीमा सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न र अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने जनाएको छ ।

नास आईटीका अनुसार एक्सपोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोन रूपमा आफूलाई स्थापित गरेको छ ।

कान्तिपुर

Link copied successfully