आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको बताएको छ ।
काठमाडौँ — एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।
यससँगै ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको बताएको छ ।
लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तीव्रता दिदै गत १० दिनमा यी २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको जनाइएको छ ।
नयाँ टावरहरुको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीको दाबी छ । एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावर सञ्चालनमा ल्याएको छ । ती स्थान बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर र रौतहटको यमुनामाई र माधव नारायण हुन् ।
कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौंडा (मकवानपुर) मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको एनसेलले बताएको छ ।
