गोल्याण ग्रुपले सहिद परिवारका ११ बालबालिकालाई शैक्षिकवृत्ति दिने

गोल्याण ग्रुपले पहिलो चरणमा ११ जना सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र प्रतिभा प्रोत्साहनका लागि छात्रवृत्ति दिने सम्झौता गरेको छ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — औद्योगिक घराना गोल्याण ग्रुपले जेन–जी आन्दोलनका सहिद परिवारका ११ बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गरेको छ। ग्रुप र सहिद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यो समझदारी गरेको जनाएको छ।

पहिलो चरणमा ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि आवश्यक खर्च व्यहोर्ने गरी सम्झौता गरिएको हो।

गोल्याण ग्रुपका तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकहरूले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार गोल्याण ग्रुपले सहिद परिवारका सदस्यहरूले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तहसम्म (कक्षा १२) अध्ययन गर्न आवश्यक छात्रवृत्ति उपलब्ध गराउनेछ।

‘छात्रवृत्ति स्वरूप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,’ समझदारीपत्रमा उल्लेख छ।

बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन भर्ना तथा नियमित शुल्कसमेत व्यहोर्ने व्यवस्था पनि समझदारीमा समावेश गरिएको छ।

अभिभावकहरूले दिएको जानकारीअनुसार यूरो स्कुल छाउनी, प्याराडाइज इंग्लिस स्कुल सानेपा, जागृति विद्यासदन इंग्लिस स्कुल मुलपानीलगायत विद्यालयमा भर्ना प्रक्रिया सुरु गरिएको छ।

समझदारीपत्रमा हस्ताक्षरको क्रममा काठमाडौं सानो भर्‍याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन्।

बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटी जेन–जी आन्दोलनमा मारिएपछि भाइ–बहिनीको जिम्मेवारी उनकै काँधमा आएको थियो।

उनी भन्छिन्, 'बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब त्यो हटेको छ।'

त्यस्तै सहिद अनिष पराजुलीकी धर्मपत्नी मञ्जु पौडेलले शिक्षाभन्दा ठूलो धन केही नभएको बताउँदै गोल्याण ग्रुपप्रति आभार व्यक्त गरिन्। उनका श्रीमान् पराजुली महाराजगन्जमा गोली लागेर मारिएका थिए। उनका २ र १४ वर्षका दुई छोराको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याणले लिएको छ।

गोल्याण ग्रुपले अब स्वास्थ्य बिमा सहयोग कार्यक्रम पनि सुरु गर्ने जनाएको छ।

शैक्षिक वृत्तिमा समावेश हुन नसकेका सहिद परिवारका अभिभावकलाई बिमार्फत सहयोग पुर्‍याइने बताइएको छ।

दोस्रो चरणमा तिहारलगत्तै बाँकी सहिद परिवारलाई भेटेर कार्यक्रममा जोड्ने योजना छ।

काठमाडौं बाहिर रहेका परिवारसँग पनि सम्पर्क भइरहेको र कात्तिक महिनाभित्र सबै सहिद परिवारलाई सहयोग कार्यक्रमअन्तर्गत समेट्ने योजना रहेको ग्रुपले जनाएको छ।

कान्तिपुर

Link copied successfully