नेपाल एशोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले पहिलोपटक नास-आईटी एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर ७ र ८ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने तय भएको छ ।
काठमाडौँ — ‘आईटी सेवा प्रदान गर्ने कम्पनीहरूलाई कर्पोरेट क्षेत्र, बैंकिङ र बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय तथा लगानीकर्ताका प्रमुख निर्णयकर्ताहरूसँग प्रत्यक्ष जोड्नु यसको मुख्य उद्देश्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्य प्रदर्शनीहरूभन्दा फरक यस कार्यक्रमले विशेषगरी आर्टिफिसियल इन्टेलिजिन्स र डिजिटल रूपान्तरणमा जोड दिँदै व्यावसायिक सहकार्य, सम्झौता र ब्रान्ड निर्माणको केन्द्रका रूपमा आफूलाई स्थापित गर्नेछ ।’
नास-आईटीका अध्यक्ष गौरव पाण्डेले आफूहरूको लक्ष्य नेपालको अत्याधुनिक आईटी सोलुसन प्रदर्शन गर्नु, उद्योगहरूसँग सहकार्य गर्नु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु रहेको बताएका छन् । प्रदर्शनीमा ३० भन्दा बढी आईटी कम्पनी सहभागी हुनेछन् ।
अवलोकनकर्ताहरूलाई विशेष अफर र प्याकेजहरू उपलब्ध गराइने, कम्पनीहरूले आफ्ना नविनतम डिजिटल समाधान सार्वजनिक गर्ने, पिचिङ सेसनमार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, आईटी कम्पनी, कर्पोरेट, वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष संवाद र सहकार्यलाई प्रोत्साहन गर्न विशेष स्थान छुट्याइने विज्ञप्तिमा उल्लेख छ ।
यसको टाइटल स्पन्सर टिग एप रहेको छ । ई-सेवा सिल्भर स्पन्सर र रिडक्ट, र्यापिड, एनसेल बिजनेस, भायानेट र डेटा वर्ल्ड सपोर्टिङ स्पन्सरका रूपमा रहेका छन् ।
