साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम

न्याय हेल्थ नेपालसँगको सहकार्यमा आयोजना गरिने तालिममा सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथाम तथा व्यावहारिक अभ्याससम्बन्धी ज्ञान दिइने जनाइएको छ ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Basic Trauma Life Support Training for Common Transport Personnel

काठमाडौँ — ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालको अर्थोपेडिक विभागले साझा यातायातका कर्मचारीहरुलाई शनिबार आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम दिने भएको छ । 

न्याय हेल्थ नेपालसँगको सहकार्यमा आयोजना गरिने तालिममा सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथाम तथा व्यावहारिक अभ्याससम्बन्धी ज्ञान दिइने जनाइएको छ । मुख्य प्रशिक्षकका रुपमा आरुस अस्पतालका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरु डा. भास्करराज पन्त, डा. सन्दीप भण्डारी, डा. प्रशान्त अधिकारी र डा. गौरववीर बजाचार्य रहने छन् । 

प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने गोल्डेन पिरियड (दुर्घटनापछि पहिलो घण्टा) को महत्वबारे विस्तृत जानकारी गराउँदै उक्त अवधिमा गरिएको प्राथमिक उपचारले धेरै जीवन बचाउन सकिने तथ्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

साझा यातायातका कर्मचारीलाई आपतकालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सक्षम बनाउन, सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचारको सुरुवात गर्न मद्दत गर्ने उद्देश्यले तालिम आयोजना गरिन लागेको प्रशिक्षक डा. भास्करराज पन्तले बताए । 

कान्तिपुर

Link copied successfully