बैंकले पछिल्ला वर्षहरूमा मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा तथा वित्तीय परामर्शजस्ता अत्याधुनिक सेवामार्फत एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ ।
What you should know
काठमाडौँ — प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित मानिने यूरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईस’ अवार्ड प्राप्त गरेको छ ।
सिंगापुरमा आयोजना गरिएको भव्य समारोहमा यो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित थप तीन महिला अधिकृतले संयुक्त रूपमा अवार्ड लिएका थिए ।
यसअघि पनि बैंक अफ दि इयर २०२३ बाट सम्मानित भएको प्रभु बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा सशक्त उपस्थिति जनाउँदै आएको छ । हाल प्राप्त अवार्डले साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल सेवामा बैंकको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता दिएको हो ।
बैंकले पछिल्ला वर्षहरूमा मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यावसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा तथा वित्तीय परामर्शजस्ता अत्याधुनिक सेवामार्फत एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ । यी सेवाले साना व्यवसायलाई आधुनिक बैंकिङ प्रणालीसँग जोडेर व्यवसाय वृद्धिमा सहयोग पुर्याएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो रणनीतिमा एसएमईलाई विशेष प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धताका कारण बैंकले अन्तर्राष्ट्रिय मान्यता पाएको प्रमुख कार्यकारी अधिकृतले बताए ।
‘यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण मात्र होइन, सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बैंकले डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायलाई सशक्त बनाउने अभियानलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम तथा सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ। ‘डिजिटल नेपाल’ अभियानलाई आत्मसात गर्दै आगामी दिनमा अझ नवीन र व्यापक डिजिटल समाधानमार्फत एसएमईलाई दीगो बैंकिङ सेवा उपलब्ध गराउने तयारी भइरहेको बैंकले जनाएको छ।
