आइरिस पबद्वारा रवीन्द्र ढाँट सम्मानित

खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Rabindra Dhant honored by Iris Pub

काठमाडौँ — लाजिम्पाटस्थित आइरिस पबले मिश्रित मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई सम्मान गरेको छ। शनिबार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका ढाँटलाई सम्मान गरिएको हो ।

खेलाडीको आगामी यात्रा सहज बनाउन आइरिस पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ। यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिबद्धता स्पष्ट पारेको पब व्यवस्थापनले जनाएको छ।

कोष संकलनमा योगदान पुर्‍याउने संस्थामध्ये जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हे्ली, होलिडे इन एक्सप्रेस, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट र गिफ्ट हाउस प्रमुख रहेका थिए।

त्यसैगरी कार्यक्रमलाई चाटाइम, डाबर रियल फ्रुट पावर, जुजु वेयर्स र एक्स्ट्रिम इनर्जी ड्रिङ्कले प्रायोजन गरेका थिए।

'रवीन्द्रले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन्। आफ्नै खेलाडीलाई सम्मान र सहयोग गर्नु हाम्रो कर्तव्य हो। यस कार्यक्रममा समन्वय पुर्‍याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं,' आइरिस पबका प्रबन्ध साझेदार राईश भट्टले बताए।

कान्तिपुर

Link copied successfully