नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको जनाइएको छ ।
What you should know
काठमाडौँ — एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा एनआईबीएलइक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको जनाइएको छ । एनआईबीएलका प्रमुख कार्यकारी अधिकृत पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे ।
‘हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता हो,’ उनले भने । जाभाका संस्थापक प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राखे । ‘यो साझेदारी हाम्रो यात्राको एक महत्त्वपूर्ण मोड हो । स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिममार्फत दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं,’ उनले भने ।
सम्झौता तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्नु रहेको कम्पनीले जनाएको छ । जसको थालनी एसिया र अस्ट्रेलियाबाट हुने जनाइएको छ । नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन समेत सहयोग पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीतिअन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको हो ।
सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीका ग्यालरी बाई हिमालयन जाभा आउटलेट सञ्चालन गरिरहेको छ
हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसर बढ्ने विश्वास लिइएको छ । यससँगै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।
