सिटिजन्स बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि

बैंकले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीबीच ‘सेमिनार अन कोशी लिडरसिप: इन्स्पायरिङ परफर्मेन्स एन्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम पनि गरेको छ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

11.15 percent increase in lending by Citizens Bank

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कर्जा प्रवाह ११.१५ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा कर्जा प्रवाह १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यसअघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो। निक्षेप संकलनमा पनि ११.६९ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ। कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन पुगेको बैंकले जनाएको छ।

यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो। खुद व्याज आम्दानीमा ११.२० प्रतिशत वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ। यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ।

बैंकले असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गरेको हो।

बैंकले ‘बैंक अफ द इयर २०२४’ को उपाधि पनि पाएको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

यसैबीच बैंकले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीबीच ‘सेमिनार अन कोशी लिडरसिप: इन्स्पायरिङ परफर्मेन्स एन्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम पनि गरेको छ।

सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवम् चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्रीय र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया गरिएको हो। पछिल्लो पटक मधेश र बागमती प्रदेशमा पनि यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो।

कान्तिपुर

Link copied successfully