नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको १०औं प्रि–आर्टिकलसिप अभिमुखीकरण

‘आईक्यान’ निबन्ध प्रतियोगिताका विजेता तथा उपविजेता क्याप-३ तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

10th Pre-Articleship Orientation of Nepal Institute of Chartered Accountants

What you should know

काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको १०औं प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गत जुनमा सञ्चालित चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षाको क्याप–२ तह उत्तीर्ण विद्यार्थी लक्षित रहेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार कार्यक्रममा परीक्षामा सफल विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षणसम्बन्धी आवश्यक जानकारी र क्याप–३ तहमा दर्ता प्रक्रियाबारे अवगत गराइएको थियो। कार्यक्रमको सुरुआतमा संस्थाका कार्यकारी निर्देशक सीए विमल डंगोलले सहभागीलाई स्वागत गर्दै बधाई ज्ञापन गरे र उज्ज्वल भविष्यको कामना गरे।

संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, ‘यो उचाइ प्राप्त गर्न अघि बढ्ने तपाईंहरूको यात्राको अन्त्य नभई सुरुआत हो, त्यसैले अझ धेरै मेहनतका निम्ति तयार रहनुहोला।’ उनले संस्थाको सदस्य भएपछि प्राप्त हुने विभिन्न अवसरबारे पनि जानकारी दिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले पनि प्रस्तुतीकरण दिए। उनले पञ्जीकृत प्रशिक्षणका क्रममा प्रशिक्षार्थीले पालना गर्नुपर्ने व्यवहार, प्रशिक्षार्थी तथा प्रशिक्षकको भूमिका र लेखापरीक्षण फर्मको अधिकार तथा कार्यक्षेत्रबारे प्रष्ट पारे।

उनको प्रस्तुतीकरणमा कार्य वातावरण, लेखापरीक्षण फर्मको व्यावसायिक अभ्यास, व्यावसायिक संस्कृति र व्यवहार, आर्टिकल्ड प्रशिक्षार्थी र सिद्धान्त, अडिट फर्ममा जिम्मेवारी र अधिकार, तोकिएको अडिट फर्म र ग्राहक कार्यालयको वातावरण तथा व्यवहारसम्बन्धी विषय पनि समावेश थियो।

कार्यक्रममा संस्थाका शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार तथा प्रक्रियाबारे प्रस्तुतीकरण गरे। प्रशिक्षक राजन कोइरालाले प्रशिक्षणका क्रममा गर्नुपर्ने सञ्चार, शिष्टाचार तथा व्यावसायिक आचरण र लेखापरीक्षण फर्मभित्र गर्नुपर्ने सञ्चारसम्बन्धी विषयमा प्रस्तुतीकरण दिए।

कार्यक्रममा संस्थाले आयोजना गरेको ‘आईक्यान’ निबन्ध प्रतियोगिताका विजेता तथा उपविजेता क्याप-३ तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कान्तिपुर

Link copied successfully