सम्झौताअनुसार हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा नेपाल भित्र्याउने काम सानिमा बैंकमार्फत हुने र यसले बैंकको क्षमता तथा साख बढाउनसँगै दिगो विकासमा टेवा पुग्ने बैंकले जनाएको छ।
काठमाडौँ — चीनको सिचुवान शाखामा आयोजित विशेष कार्यक्रममा मनाङ–मर्स्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ–भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) का लागि वित्तीय सहजीकरण गर्न दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआईएमका सिचुवान शाखाकी उपाध्यक्ष वु यान्हुईले सम्झौतामा हस्ताक्षर गरे। समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले एजेन्ट बैंकको जिम्मेवारीका लागि आफूहरूलाई विश्वास गरेकोमा धन्यवाद दिँदै सहकार्यले अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार र प्रवर्द्धनमा टेवा पुग्ने बताए।
उनले ऊर्जा, पूर्वाधारलगायत क्षेत्रमा यस्ता सहकार्य नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे। सीईएक्सआईएम र मुख्य लगानीकर्ताका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्झौताअनुसार हालसम्मकै ठूलो परिमाणमा चिनियाँ मुद्रा नेपाल भित्र्याउने काम सानिमा बैंकमार्फत हुने र यसले बैंकको क्षमता तथा साख बढाउनसँगै दिगो विकासमा टेवा पुग्ने बैंकले जनाएको छ।