शिक्षा,स्वास्थ्य, पर्यावरण, सगरमाथा सफाइ, भूकम्पपीडितलाई राहतलगायत कार्यक्रममा सहयोग गर्दै आएको राउन्ड टेबलले ६० भन्दा बढी विद्यालयका करिब ४ सय कक्षाकोठा निर्माण गरिसकेको छ ।
What you should know
काठमाडौँ — सन् १९९९ मा चन्द्रकुमार गोल्छाले स्थापना गरेको राउन्ड टेबलले २५ वर्ष पूरा गरेको छ । मद्रास राउन्ड टेबल ३० का ललित शाहको सहयोगमा स्थापना गरिएको राउन्ड टेबलले मैक्री, सेवा र व्यत्तिगत विकासलाई एकसाथ जोड्ने लक्ष्य लिएको संस्थाले जनाएको छ ।
राउन्ड टेबल नेपालका १२ सहरमा सक्रिय छ । अन्तर्राष्ट्रिय स्तरमा राउन्ड टेबल मुभमेन्टमा ५८ भन्दा बढी देशका ३० हजारभन्दा बढी सदस्य सक्रिय रूपमा संलग्न रहेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा,स्वास्थ्य, पर्यावरण, सगरमाथा सफाइ, भूकम्पपीडितलाई राहतलगायत कार्यक्रममा सहयोग गर्दै आएको राउन्ड टेबलले ६० भन्दा बढी विद्यालयका करिब ४ सय कक्षाकोठा निर्माण गरिसकेको विज्ञप्तिमा जनाइएको छ । थलसेमियारोगीहरुका लागि दीर्घकालीन उपचार र सहायता गरिरहेको राउन्ड टेबलले दीर्घकालीन रोगसँग जुधिरहेकाहरुलाई पनि राहत प्रदान गरिरहेको बताइएको छ ।
पर्यावरण सुरक्षाका लागि हरेक वर्ष १ लाखभन्दा बढी बिरुवा रोप्ने र दीर्घकालीन संरक्षणको क्षेत्रमा काम गर्ने नीति राउन्ड टेबलको रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘सबैभन्दा चुनौतीपूर्ण वातावरणीय परियोजनामध्ये हामीले स्थानीय र अन्तर्राष्ट्रिय साझेदारसँग हातेमालो गरी सागरमाथा क्षेत्र सफा गर्यौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले विश्वकै उच्च शिखरबाट फोहोर हटाउनु मात्र होइन, नेपालको प्राकृतिक सम्पदा जोगाउने चेतना पनि फैलायो ।’ भूकम्पपीडितलाई आपत्कालीन सहयोग गर्ने काममा पनि राउन्ड टेबलले सघाइरहेको विज्ञप्तिमा जनाइएको छ ।
‘भूकम्पको पहिलो केही घण्टामै हाम्रा सदस्यहरू प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, पानी, अस्थायी आवास सामग्री, कपडा, र स्वास्थ्य सामग्री वितरण गर्ने गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
