वर्ल्ड स्कलर्स कपमा युरो स्कुल टुर्नामेन्ट अफ च्याम्पियन्स–२०२५ का लागि छनोट

युरो स्कुलका १९ विद्यार्थीले ५१ स्वर्ण र ६१ रजतसहित कुल ११२ पदक जित्दै अमेरिकास्थित येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्स–२०२५ का लागि छनोट भएका हुन्।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Qualification for Euro School Tournament of Champions-2025 in the World Scholars Cup

What you should know

काठमाडौँ — चीनको सेन्जेनमा सम्पन्न वर्ल्ड स्कलर्स कप–२०२५ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। पहिलो पटक सहभागिता जनाएको युरोका १९ विद्यार्थीले ५१ स्वर्ण र ६१ रजतसहित कुल ११२ पदक जित्दै अमेरिकास्थित येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्स–२०२५ का लागि छनोट भएका हुन्।

प्रतियोगितामा करिब २० देशका १४ सयभन्दा बढी विद्यार्थी सहभागी थिए। कडा प्रतिस्पर्धामाझ नेपाली टोलीले प्रदर्शन गरेको उत्कृष्ट नतिजाले विद्यालय परिवार र अभिभावकलाई गौरवान्वित बनाएको प्रधानाध्यापक रोहिणी प्रधानले बताइन्। कक्षा ८ की छात्रा आरुषी श्रेष्ठले लेखन प्रतिस्पर्धामा चौथो स्थान हासिल गर्दै ८ स्वर्ण र ३ रजत जितिन्।

उनले चित्रकलामा समेत उत्कृष्टता देखाइन्। उनी सहभागी रहेको अदिति सुवेदी र लिजा पराजुलीको टोलीले सामूहिक लेखनमा तेस्रो स्थान पायो। अदितिले ९ (६ स्वर्ण, ३ रजत) र लिजाले ७ (४ स्वर्ण, ३ रजत) पदक जिते।

त्यस्तै, एरोन शर्माले प्रतिष्ठित ‘एसिमोभ अवार्ड’ जित्दै व्यक्तिगत रूपमा ११ पदक (४ स्वर्ण, ७ रजत) जिते। उनका साथै, रितिशा शक्य (६ पदक), राज्वी त्रिपाठी (६), प्रतिष्ठा श्रेष्ठ (६), आश्रेय शाक्य (५), सम्पदा स्याण्डा (५), नस्वा महर्जन (५), टियारा श्रेष्ठ (५), लरिसा सुवेदी (५) र श्रेयसी सिग्देल (५) ले उल्लेखनीय सफलता हासिल गरे।

सिनियर वर्गतर्फ ष्लेश्ना तुलाधरले ७ पदक (४ स्वर्ण, ३ रजत) जितिन्। लिजला शक्यले ५, अक्ष्यता तुलाधरले ४, मनसा बगालेले ३, इभान सयामीले २ र मानस श्रेष्ठले २ पदक हात पारे।

विद्यालयले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विद्यार्थीमा नेतृत्व क्षमता, आलोचनात्मक सोच र विश्वस्तरमा प्रतिस्पर्धा गर्ने आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ।

आगामी नोभेम्बर ६–१२ मा येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्स मा विजयी टोलीका १३ विद्यार्थी र अभिभावक सहभागी हुने तयारीमा रहेको विद्यालयले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully