यो कार्यक्रममा प्रविधि सीपसँगै रोजगारी योग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किल्स् पनि सिकाइन्छ ।
काठमाडौँ — सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ तालिम पूरा गरेका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसमा तेस्रो ब्याच सकिएका विद्यार्थीहरूलाई कुलपति प्रा. डा. दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रा. डा. सुशील बी. बज्राचार्यले प्रमाणपत्र प्रदान गरे।
सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्त मणि कायस्थले कार्यक्रममा नेपाली युवालाई भविष्यमुखी सीपले सशक्त बनाउन सामसङ इनोभेसन क्याम्पस महत्वपूर्ण योगदान दिइरहेको बताए। उनका अनुसार अब नयाँ ब्याचमा एआई र बिगडाटा तालिम सुरु हुनेछ।
'त्रिविसँग सहकार्यमा हामी एआई, बिग डाटा र आईओटीको तालिमलाई अझ बलियो बनाउँदै छौं,' उनले भने, 'यसले विद्यार्थीलाई भविष्यको रोजगारीका लागि तयार गर्नेछ।'
सन् २०२२ डिसेम्बरमा त्रिविमा सुरु गरिएको सामसङ इनोभेसन क्याम्पसअन्तर्गत हालसम्म नेपाली युवाले एआई, बिग डाटा, आईओटी कोडिङ र प्रोग्रामिङसम्बन्धी तालिम पाउँदै आएका छन्। विद्यार्थी छनोट एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङमा आधारित हुन्छ।
डीन बज्राचार्यका अनुसार कोडिङ र प्रोग्रामिङ तालिमले विद्यार्थीबीच उल्लेखनीय रुचि कमाएको छ। “हामी भविष्य प्रविधि सिकाइलाई अझ विस्तार गर्न चाहन्छौं,” उनले भने।
यो कार्यक्रममा प्रविधि सीपसँगै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किल्स् पनि सिकाइन्छ। विद्यार्थीहरूले एआई, बिग डाटा, आईओटी र कोडिङ प्रयोग गरी सामाजिक महत्वका परियोजनामा काम गर्ने अवसर पाउनेछन्।
