१३ सय महिलासहित ४ हजारले रोजगारी दिइरहेको रिलायन्सले आफ्ना उत्पादन नेपालका अलवा भारत, टर्कीलगायत देशमा निर्यात गर्दै आएको छ ।
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ कुल नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ६१ करोड ५० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा उद्योगको कुल नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।
कम्पनीले गत आर्थिक वर्ष अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । सो अवधिमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
२०५४ सालमा स्थापित रिलायन्स मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । यसका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । कम्पनीले वार्षिक ५ करोड अमेरिकी डलर बराबरको उत्पादन निर्यात गर्दै आएको दाबी गरेको छ ।
९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको उद्योग हालसम्म कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १३ सय महिलासहित ४ हजारले रोजगारी पाएका छन् ।
