कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेसनलबीच सम्झौता

सम्झौताअनुसार दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदान–प्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने लगायतका विषयमा सहकार्य गर्नेछन् ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Agreement between the Chamber of Agriculture and Bridge International of Korea

What you should know

काठमाडौँ — कृषि, जडीबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेसनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका कृषि, जडीबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदान–प्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने लगायतका विषयमा सहकार्य गर्नेछन् । ब्रिज इन्टरनेसनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्‍याउने उल्लेख छ ।

नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने, व्यवसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सीप आदान–प्रदान गर्ने सहमति भएको छ । संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदान–प्रदानमार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायी लाभान्वित हुने विश्वास गरिएको छ ।

सम्झौतामा दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच भ्रमणमार्फत व्यवसाय प्रवर्द्धन गर्ने, एक अर्काको बजारमा सम्भाव्य अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि समावेश गरिएको छ । साथै, कोरियाबाट सीप सिकेर फर्किएका युवाको लगत संकलन गरी उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि तथा व्यवसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्नेछ ।

कृषि व्यवसाय, जडीबुटी तथा वन, र साना–मझौला उद्यम विकासलाई प्राथमिकतामा राखी गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरण थप मजबुत हुने चेम्बरको विश्वास छ । यसले नेपाली कृषक, उद्यमी र नवप्रर्वद्धन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई दुवै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully