ग्यास्ट्रो र न्युरो उपचारमा एपोलो अस्पतालको नयाँ प्रविधि

अस्पतालका वरिष्ठ चिकित्सकले पाचन प्रणाली, कलेजो, स्नायु प्रणालीसम्बन्धी रोगको निदान र उपचारमा एपोलोले गरेका प्रगतिबारे प्रकाश पारेका थिए ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Apollo Hospitals New Technologies in Gastro and Neuro Treatment

काठमाडौँ — भारतको राजधानी नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालले ग्यास्ट्रोएन्टेरोलोजी र न्युरोलोजी उपचारका क्षेत्रमा पछिल्ला प्रविधि र उपलब्धिबारे जानकारी गराएको छ ।

काठमाडौंको एक होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका वरिष्ठ चिकित्सकले पाचन प्रणाली, कलेजो, स्नायु प्रणालीसम्बन्धी रोगको निदान र उपचारमा एपोलोले गरेका प्रगतिबारे प्रकाश पारे ।

ग्यास्ट्रो–हेपाटोलोजिस्ट डा. संजय सिक्काले अस्पतालमा अत्याधुनिक इन्डोस्कोपी, क्याप्सुल इन्डोस्कोपी, म्यानोमेट्री, ईआरसीपी, ईयूएस, स्पाइग्लास कोलाङ्गियोस्कोपीलगायत प्रविधि प्रयोग भइरहेको जानकारी दिए । उनका अनुसार सटीक निदान र छिटो उपचारलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै न्युरोलोजिस्ट डा. पीएन रेनजेनेले स्ट्रोक, मिर्गी, पार्किन्सन, मल्टिपल स्क्लेरोसिसदेखि स्पाइनल डिसअर्डरसम्मका उपचारमा नयाँ प्रविधिले सफलता बढाएको बताए । समयमै हस्तक्षेप भए बिरामीको जीवनस्तर उल्लेख्य सुधार हुने उनको भनाइ थियो ।

सन् १९८३ मा स्थापना भएको एपोलो अस्पताल अहिले भारतभर फैलिएको छ । एसियाकै अग्रणी स्वास्थ्य सेवा प्रदायक मानिने यस समूहले अस्पताल, फार्मेसी, टेलिमेडिसिन, मेडिकल कलेजदेखि अनुसन्धानसम्मका सेवा सञ्चालन गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully