ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन् ।
What you should know
काठमाडौँ — राजधानीको व्यस्त सडक र जीवनशैलीलाई सहज बनाउन फास्टो नेपालले उपभोक्तालाई १० मिनेटमै सामान घरमै उपलब्ध गराउने भएको छ।
'एनिथिङ इन टेन मिनेट’ भन्ने नाराका साथ फास्टोले भदौ १ गतेदेखि काठमाडौं उपत्यकाभित्र सेवा सुरु गरेको छ । सो सेवाअन्तर्गत किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, दैनिक उपभोग्य सामग्री, खेलकुद तथा सजावटका सामानसहित बजारको मागअनुसारका अन्य सामग्री उपभोक्ताले मोबाइलमार्फत अर्डर गरेर १० मिनेटमै घरमै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन्। यसबाट राजधानीबासीको दैनिक किनमेल छिटो र सजिलो हुने अपेक्षा कम्पनीले लिएको छ।
कम्पनीका अनुसार यो सेवा नेपालकै पहिलो अत्यन्त छिटो डेलिभरी मोडल हो। सामान अर्डर गरेपछि औसतमा १० मिनेटमै उपभोक्तासम्म पु-याइने कम्पनीको दाबी छ।
कम्पनीका संस्थापक सुशान्त घिमिरेले भने, ‘हामी बुझ्छौँ, अहिले मानिसका लागि हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। बजार जाने, पार्किङ गर्ने, सामान खोज्ने, लाइनमा पर्खिने आदि कारणले उपभोक्ताको समय खेर जाने गरेको छ। हाम्रो उद्देश्य भनेको उनीहरूको समय बचत गर्नु हो।’
छिटो डेलिभरीका लागि फास्टोले काठमाडौं उपत्यकाभित्र विशेष वितरण नेटवर्क तयार पारेको छ। अत्याधुनिक लजिस्टिक प्रणाली र दक्ष डेलिभरी टिममार्फत गुणस्तरीय सेवा दिने लक्ष्य कम्पनीले राखेको छ।
स्थानीय खुद्रा मूल्यमा २५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका २ हजारभन्दा बढी सामान उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै किसान र उत्पादकसँग प्रत्यक्ष सहकार्य गरी उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने योजना समेत बनाइएको छ। यसरी वितरण प्रक्रियामा मध्यस्थकर्ताको संलग्नता घट्ने र साना तथा मध्यम स्तरका उद्योगको वितरण लागत कम हुने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार यसबाट उत्पादक मात्र होइन, करिब ७० लाखभन्दा बढी उपभोक्ता पनि प्रत्यक्ष लाभान्वित हुनेछन्। अहिले काठमाडौं उपत्यकाभित्र सीमित यो सेवा निकट भविष्यमा देशका अन्य प्रदेश र बजारमा समेत विस्तार गर्ने लक्ष्य फास्टोले राखेको छ।
