नाडा अटो शोमा प्रदर्शन गरिने फ्लाइङ ट्याक्सी र रोबोट काठमाडौं आइपुग्यो

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

श्रावण ३१, २०८२

कान्तिपुर संवाददाता

The flying taxi and robot that will be displayed at the NADA Auto Show have arrived in Kathmandu

काठमाडौँ — नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शनका लागि ल्याइने दिपल इभीटीओएल फ्लाइङ ट्याक्सी नेपाल आइपुगेको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट दुवै काठमाडौं सुरक्षित रूपमा आइपुगेको जानकारी दिएको हो।

तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपत्ति र अनपेक्षित चुनौती पार गर्दै यी प्रविधि नेपाल ल्याइएको नाडाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, 'यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनका लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन्।'

१७औँ संस्करणको नाडा अटो शो केबल प्रदर्शनी मात्र नभई नेपालले प्रविधिसँग अघि बढ्ने दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हुने नाडाले जनाएको छ। कार्यक्रमले नेपालमा प्रविधिको नयाँ सम्भावनाको द्वार खोल्ने अपेक्षा गरिएको छ।

नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully