कार्यक्रममा व्यवसायमा सफलता दिलाउने व्यवहारिक रणनीति र उत्प्रेरणादायी विचार प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।
काठमाडौँ — ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ कार्यक्रम आगामी भदौ १२ मा काठमाडौंमा हुने भएको छ। कार्यक्रममा व्यवसायिक सफलता, नेतृत्व विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण तथा आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा मार्गदर्शन दिइने आयोजकले जनाएको छ।
जिनियस टल्क्सको आयोजनामा हुने कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले व्यवसायमा सफलता दिलाउने व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका तथा उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा जिनियस टल्क्सका प्रबन्धक कृष्ण शाहले यस्ता कार्यक्रमहरूले व्यवसायमा प्रेरणा र टेवा पुर्याउने बताए। उनका अनुसार डा. उज्जवल पाटनीले अहिलेसम्म १० हजारभन्दा बढी यस्ता सेमिनार सञ्चालन गरिसकेका छन् र काठमाडौंमा यो पहिलो प्रस्तुति हुनेछ।
शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यवसायिक विकासका लागि अनुभवी विज्ञहरूको ज्ञान र अनुभव महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रममा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।
भारतसहित विभिन्न देशमा अत्यन्त सफल सावित भएका पाटनीका कार्यक्रमको पहिलो नेपाली संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने तथा नेपालमा व्यवसायिक सोचमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा लिइएको आयोजकको भनाइ छ।
