आउटरिच नेपालले आफ्नो सक्रियता र डिजिटल साझेदारसहित भारतको नयाँ दिल्लीमा आयोजित फ्लेम अवार्ड्स दक्षिण एसिया २०२५ मा १३ वटा पुरस्कार जितेको हो ।
काठमाडौँ — आउटरिच नेपालले आफ्नो सक्रियता र डिजिटल साझेदारहरू–लेमन र डिजिटलइनसँग मिलेर भारतको नयाँ दिल्लीमा आयोजित फ्लेम अवार्ड्स दक्षिण एसिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जितेको छ ।
शुक्रबार ताज विवान्टामा सम्पन्न उक्त अवार्डमा युनिलिभरका लागि ७, सामसुङका लागि २, नेपाल सेलका लागि २, माउन्टेन ड्यू र शिखर इन्स्योरेन्सका लागि १–१ पुरस्कार प्राप्त भएको छ । यसमा ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक समावेश छन् ।
फ्लेम अवार्ड्स भारतको ग्रामीण मार्केटिङ संघ (आरएमएआई) द्वारा आयोजना गरिएको कार्यक्रम हो, जसले व्यवहार परिवर्तन सञ्चार, क्षेत्रिय मार्केटिङ र समावेशी मार्केटिङमा उत्कृष्टता मान्यता दिन्छ ।
यस वर्ष सबैभन्दा बढी आवेदन प्राप्त भएका थिए र भारत, बंगलादेश, नेपाल र थाइल्यान्डबाट समेत बलियो सहभागिता थियो । पुरस्कारहरूको न्यायिक प्रक्रिया एर्न्स्ट एन्ड यंग(ईवाई) ले प्रमाणित गरेको थियो ।
निर्णायक समितिको सहअध्यक्षमा बिस्लेरी इन्टरनेसनलका सीईओ एन्जेलो जर्ज र सिडवर्क्स इन्टरनेसनलका एमडी डा. वेङकट्रम वसन्तवाद रहेका थिए ।
आउटरिचका संस्थापक उजय शाक्यले भनेका छन्, 'दिल्लीमा सम्झनलायक साँझ भयो–१३ पुरस्कार जित्दा निकै खुशी लागेको छ । हाम्रो ग्राहक साझेदारहरूलाई धन्यवाद, जसले हामीलाई सधैं अगाडि बढ्न प्रेरित गरेका छन् । यी पुरस्कार हाम्रो टीमको समर्पण र सिर्जनशीलताको प्रमाण हुन्।'
यसका साथै, उजय शाक्यलाई नेपालमा आरएमएआईको नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । आउटरिच नेपाल सन् २००३ मा स्थापना भएको एक प्रमुख एकीकृत मार्केटिङ सञ्चार संस्था हो, जसको मुख्यालय काठमाडौंमा रहेको छ ।
