प्रेसिडेन्सियल इन्नोभिस्टामा फुटबल खेल्ने रोबोटदेखि साइबर सेक्युरिटीसम्मका ५० परियोजना

यो कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत पुर्‍याएको छ ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

50 projects from soccer-playing robots to cyber security at Presidential Innovista

काठमाडौँ — टेक एवं  बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी साउन २५ सम्म चल्नेछ ।

कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशाला, बिजनेस स्टल, क्लब गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहेका छन् । यो कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित रहेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।

प्रदर्शनीका केही उल्लेखनीय परियोजनामा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबट (गीतमा नाच्ने), इमोसन डिटेक्स सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने), डाँफे अपरेटिङ सिस्टम, ईभी बाइक, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली), भूकम्प तथा बाढी पहिरोको सूचना दिने प्रणाली लगायत रहेका छन् । 

स्कुलकी डाइरेक्टर तथा प्रिन्सिपल कल्पना गुरुङले यो इभेन्टले नेपालमा सूचना प्रविधि र व्यापारका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्दै भविष्यका नवप्रवर्तकहरूलाई थप प्रेरित गर्ने बताइन् ।

कान्तिपुर

Link copied successfully