नेपाल र श्रीलंका चेम्बरबीच सहकार्य समझदारीमा हस्ताक्षर

नेपाल र श्रीलंकाका चेम्बर अफ कमर्सका महासचिवहरूले व्यावसायिक अवसर बढाउन सम्झौतामा हस्ताक्षर गरेका छन्।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Signing of cooperation agreement between Nepal and Sri Lanka Chamber

What you should know

काठमाडौँ — नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेसडर चार्ज दि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितिमा भएको जुम मिटिङमार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्सका महासचिव/प्रमुख कार्यकारी अधिकृत एम. शिहम मारिकरबीच हस्ताक्षर भएको हो ।

यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखिन् ।

आउँदो सेप्टेम्बर १८ देखि २१ सम्म श्रीलंकामा इन्डस्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने भएका छन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिनेछ र श्रीलंकाका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्झौता पत्रमा हस्ताक्षरपछि दुवै संस्थाका सदस्यहरूले एक अर्काको मुलुकमा व्यक्तिगत तथा सामूहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ ।

साथै व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवर्द्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

आ–आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी तथा व्यापार प्रवर्द्धन कार्यक्रमहरूको आयोजनासमेत गरिने उल्लेख छ ।

सम्झौता पत्रमा उल्लिखित उद्देश्यलाई अगाडि बढाउन दुवै पक्षले नेपाल र श्रीलंकामा एक अर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्ने सहमति जनाएका छन् ।

सम्झौतामा दुवै पक्षले दुवै देशका व्यवसायीहरूबीच उत्पन्न हुन सक्ने व्यापार विवाद समाधान गर्न एक अर्कालाई मद्दत गर्ने उल्लेख गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully