‘फिटनेस एक्स्पो’ गर्दै क्लासिक फिटनेस एकेडेमी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिटनेस र व्यावसायिक आइकनहरूको सहभागिता रहने, चार विधामा सम्मान प्रदान गरिने 

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Classic Fitness Academy doing 'Fitness Expo'

काठमाडौँ — क्लासिक फिटनेस एकेडेमीले १४ भदौमा अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी ‘फिटनेस एक्स्पो–२०८२’ आयोजना गर्ने भएको छ । रिगल इभेन्टको व्यवस्थापनमा होटेल मल्लमा एक्स्पो आयोजना गर्न लागिएको हो । 

एक्स्पोले फिटनेससम्बन्धी व्यापारिक साझेदारी बढाउन सहयोग गर्ने क्लासिक फिटनेस एकेडेमीका संस्थापक निर्देशक रोजल शाहीले जानकारी दिए । ‘यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत हो,’ उनले भने ।

एक्स्पोले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा लैजाने उद्देश्य राखेको बताउँदै शाहीले एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने जानकारी दिए । 

एक्स्पोमा ‘फिटनेस अवार्ड शो’ पनि गरिने छ । राइजिङ एथ्लेटिक, वेस्ट एथ्लेटिक, वेस्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी चार विधामा उक्त सम्मान प्रदान गरिनेछ । भारत, मलेसिया तथा अन्य एसियाली मुलुकबाट फिटनेस इन्फ्लुएन्सर र व्यावसायिक प्रतिनिधि कार्यक्रममा सहभागी हुने शाहीले जानकारी दिए ।

एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्ज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलिब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहनेछ । करिब तीन हजार जनाले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

कान्तिपुर

Link copied successfully