'केसीसी एक्जिबिट २०२५' जारी

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी भइरहेको बताएका छन्।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

'KCC Exhibit 2025' released

What you should know

काठमाडौँ — कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘केसीसी एक्जिबिट २०२५’ शुक्रबारदेखि जारी छ। शुक्रबार पुतलीसडकस्थित केसीसी कलेज परिसरमै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक्जिबिटको उद्घाटन गरे।

सञ्चारमन्त्री गुरुङले आजको दशक फाइभजी र एआईको भएको बताए। सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेको उनले सुनाए। सरकारलाई एक वर्ष मात्र अनुभव लिन पाएको भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सकिने धारणा व्यक्त गरे।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकालले इन्जिनियरहरूले मात्रै यो देशको मुहार फेर्न सक्ने बताए। इन्डस्ट्री र एकेडेमीलाई जोडेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे। आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरूलाई नाष्टले स्वागत गर्ने बताउँदै, अनुसन्धान र आविष्कारका लागि पैसा र स्थान उपलब्ध गराउने जानकारी दिए।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले केसीसीको यो एक्जिबिसनले धेरै नयाँ युवालाई प्रेरणा दिएको बताए। यो प्रदर्शनीले युवाहरूलाई अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ। इन्डस्ट्री, एकेडेमिया र गभर्नमेन्टबीच समन्वय भएर अघि बढ्न सके देश समृद्ध बन्न समय नलाग्ने उनको धारणा थियो।

क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डेले एक्जिबिसनको सफलताको शुभकामना दिइन्। क्यान फेडेरेसनले ३२ वर्षदेखि यस्तै नयाँ प्रविधिको विकास क्यान इन्फोटेकमार्फत मात्रै देखिँदै आएकोमा पछिल्लो समय कलेजका विद्यार्थीहरूले नै नयाँ आविष्कार गरेर देखाउन थालेको उनले बताइन्। युवा विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको उनले स्पष्ट पारिन्। एआईको विकास उच्च गतिमा भइरहेको भन्दै, सबै इनोभेसनमा एआईको प्रयोग गर्नुपर्ने सुझाव उनले दिइन्।

कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै प्रा. रामाकृष्ण रेग्मीले ‘इनोभेसन, एक्जिबिट र इन्स्पायर’ नै प्रदर्शनीको मुख्य उद्देश्य भएको बताए। नेपालमा एआई प्रविधिहरूलाई कसरी असल अभ्यासका रूपमा प्रयोग गर्ने भन्ने विषयमा कन्तिपुर सिटी कलेजले काम र अध्यापन गराइरहेको जानकारी पनि उनले दिए। यो प्रदर्शनी केसीसीको मात्र नभई सबै कलेज र सरोकारवालाको भएको उनले बताए। 'केसीसीले एउटा रेखा कोरेको छ, यो ग्लोबली कनेक्ट हुन सक्छ, हुनु पनि पर्छ,' उनले भने।

'KCC Exhibit 2025' released

प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वमा तयार गरिएका परियोजनाहरू प्रदर्शित गरिएको जानकारी उनले दिए। प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इन्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश छन्। त्यस्तै, बीबीए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दा बढी खाना स्टलमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएको उनले बताए।

शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतिहरू पनि समावेश गरिएका छन्। कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन्।

कार्यक्रममा १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने कलेजले अपेक्षा गरेको छ। विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने प्रदर्शनी संयोजक इ. रवी श्रेष्ठले बताए। यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवर्द्धन र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले व्यक्त गरे।

कान्तिपुर

Link copied successfully