वार्षिक योजनामा दुई महिना निःशुल्क सेवा
काठमाडौँ — एनसेलले पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’ अन्तर्गत मनसुन बिजनेस अफर सार्वजनिक गरेको छ। अफरअनुसार ग्राहकले १० महिनाको शुल्क तिर्दा १२ महिनासम्म सेवा लिन सक्नेछन्।
‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ मोडलमा आधारित यो योजनामा दुई महिनाको सेवा निःशुल्क प्रदान गरिनेछ। बिज सधैं अन ३९९ प्लानमा हरेक महिना १० जीबी डेटा, ४०० मिनेट टक टाइम र ४०० एसएमएस उपलब्ध छन्। ६४९ प्लानमा ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस दिइनेछ।
कम्पनीले तीनवटा मोबाइल नम्बरमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिनासम्म सेवा निःशुल्क पाउनेछ। यस्तै, पाँचवटा नम्बरका लागि वार्षिक सेवा लिँदा दुईवटा नम्बरले ६ महिनासम्म सेवा निःशुल्क प्राप्त गर्नेछन्।
एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले यो अफरले व्यवसायिक प्रयोगकर्तालाई वर्षभर कम खर्चमा सेवा प्रयोग गर्न सहज बनाउने विश्वास व्यक्त गरे।
साथै, एनसेलले क्लाउड र डाटा सेन्टर सेवामा पनि सीमित अवधिका लागि विशेष छुट दिएको छ। बिज सधैं अन ३९९ र ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्नेछन्।
