काठमाडौँ — सोल्टी होटेल्स एन्ड रिसोर्टसले वेस्टेन्ड ब्रान्डअन्तर्गत पोखरामा ‘सोल्टी वेस्टेन्ड लेकसाइड’ को व्यवस्थापन गर्ने भएको छ। होटेल पेनिन्सुलासँग व्यवस्थापन सम्झौता गरी उक्त होटेल सञ्चालनमा ल्याउने सोल्टीले घोषणा गरेको हो।
होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एन्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र होटेल पेनिन्सुलाका संस्थापक तथा कार्यकारी अध्यक्ष खिमबहादुर ढकालले हस्ताक्षर गरेका छन्।
सोल्टी होटेल्स एन्ड रिसोर्टसको पर्यटकीय सहर पोखरामा उपस्थिति रहेकोले यसले गण्डकी प्रदेशको राजधानी पोखरामा विस्तारित नयाँ होटेलको रूपमा नवीनतम पहिचान बनाएको छ। सोल्टी वेस्टेन्ड लेकसाइड, पोखरा र होटेल पेनिन्सुलाबीचको यो व्यवस्थापन सम्झौता अन्तर्गत होटेल सञ्चालनमा आउनेछ।
सोल्टी होटेल्स एन्ड रिसोर्टसले आफ्नो आधिकारिक व्यवस्थापक स्ट्रिम पिक इन्टरनेसनलमार्फत नेपालभित्र तथा बाहिर तारे होटेलहरूको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ।
सन् २०२५ सेप्टेम्बरदेखि बुकिङका लागि खुला गर्ने तयारीमा रहेको सोल्टी वेस्टेन्ड लेकसाइडले समकालीन आतिथ्य सत्कारमा नयाँ दृष्टिकोण र पर्यटकीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
होटेलमा ६ वटा जुनियर सुइट र एउटा अत्यन्तै आरामदायी प्रेसिडेन्सियल सुइटसहित कूल ७७ वटा प्रिमियम अतिथि कोठाहरू रहेका छन्।
