चितवन — सौराहामा चाँडै सञ्चालनको तयारीमा रहेको पाँचतारे स्तरको पर्यटकीय होटल ‘रोयल टुलिप चितवन’ले शुक्रबारदेखि रेस्टुराँ सञ्चालनमा ल्याएको छ । हेलिप्याडसमेत रहेको चार एकड क्षेत्रफलमा फैलिएको होटलको परिसरभित्रै ‘माझी घर’ नाम राखेर सञ्चालन भएको रेस्टुराँ चौबीसै घण्टा खुला रहने केटीएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाहले बताए ।
फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गत केटीएम हस्पिटालिटीले यो होटल सञ्चालन गर्न लागेको हो । ‘होटलको काम केही बाँकी छ ।
असोज पहिलो साताबाट होटल पूर्ण सञ्चालनमा आउनेछ । त्यसअघि नै रेस्टुराँ सुरु गरेका हौं,’ शाहले भने । राति १० बजेपछि बिहान ६ बजेसम्मको मेनु केही हल्का भए पनि खान चाहनेका लागि रेस्टुराँ चौबीसै घण्टा खुला रहने उनले बताए । ‘रोयल टुलिप’का पाहुनाका लागि मात्रै नभएर यो सुविधा सबैलाई उपलब्ध हुने उनको भनाइ छ ।
