आईसीटी अवार्डको अनलाइन नोमिनेसन खुला

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Online nominations for ICT Awards open

काठमाडौँ — आईसीटी अवार्डको १०औं संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला भएको छ ।

सन् २०१६ देखि लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आएको ‘आईसीटी अवार्ड’ मा यस वर्ष १५ विधामा अनलाइन नोमिनेसन खुला गरिएको आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ ।

नोमिनेसन आफै स्वयं वा अन्य उफयुक्त व्यत्ति वा संस्थालाई विधाअनुरूप सिफारिससमेत गर्न सकिने बताइएको छ । प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाका डिजिटल रूपान्तरणका प्रयासलाई समेटिएको लिभिङ विथ आईसीटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालमा मात्र नभएर आईसीटी अवार्ड अन्तर्राष्ट्रियस्तरसम्म विस्तार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षदेखि दक्षिण एसियाली देशलाई लक्ष्य गरेर ‘साउथ एसिया स्टार्टअप अवार्ड’ पनि सञ्चालन भइरहेको छ भने अन्य डब्ल्यूएसएलगायत अन्य अन्तर्राष्ट्रिय अवार्डहरुसँग पनि यसको सहकार्य छ ।’

आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस पहिलो साता हुने जनाइएको छ । सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको दाबी गरिएको छ । दुई वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आईसीटी स्टार्टअप रिकग्निसन’ मार्फत सम्मान पनि गर्दै आइरहेको छ ।

यस वर्ष पनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्ने गरी स्टार्टअप फेस्ट, ह्याकाथन र टेलिभिजन सो पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully