काठमाडौँ — सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले प्रविधि उत्सव ‘टेक एक्स: एलिभेट २०२५’ को तेस्रो संस्करण आगामी मंगलबारदेखि सुरु गर्दैछ । चार दिनसम्म चल्ने प्रविधि उत्सव कलेजकै परिसरमा सञ्चालन हुनेछ।
‘टेक एक्स: एलिभेट’ प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको अभिव्यक्तिको उत्कृष्ट प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ। तेस्रो संस्करण अझ व्यापक, नवीन र प्रेरणादायी हुने विश्वास आयोजकले जनाएको छ ।
प्रदर्शनीमा २० भन्दा बढी रोबोटिक्स र एआई-आधारित प्रोजेक्टहरू राखिनेछ। कलेजका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालित २० भन्दा बढी स्टार्टअपले आफ्नो नवप्रवर्तन, विचार र व्यवसायिक मोडेलहरू प्रस्तुत गर्नेछन्।
२५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहने दुई दिने रोजगार मेलासमेत हुने भएको छ। उक्त मेलाले सहभागी विद्यार्थीलाई हजारौं रोजगारीका अवसरमा प्रत्यक्ष पहुँच दिलाउने अपेक्षा गरिएको छ। कार्यक्रम स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि विशेष अवसरका रूपमा हेरिएको छ।
