काठमाडौँ — युवालाई देशमै अवसर रहेको सन्देश दिन, नेतृत्व विकास, सकारात्मक सोच तथा उद्यमशीलताको भावना जगाउन ‘नेसनल युथ फेस्टिभल’ हुने भएको छ । असार २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा फेस्टिभलको दोस्रो संस्करण आयोजना हुनेछ ।
मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, सुनौलो नेपाल, परिवर्तनका लागि युवा, वाईईडी टक्स र इन्डेप्थ स्टोरीको संयुक्त महोत्सव आयोजना हुन लागेको हो । गत वर्ष पनि यो महोत्सव आयोजना भएको थियो ।
यस पटकको कार्यक्रममा अनुराधा कोइराला, डा. भगवान कोइराला, चन्द्र ढकाल, मनोज ज्ञवाली, सुरक्षा पन्त, रूपेश्वर गौर दास, सोभनवीर मालाकार जस्ता व्यक्तिले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने आयोजकले जनाएका छन् । कार्यक्रममा सविन राई एन्ड द फारो तथा द एलिमेन्ट्स जस्ता लोकप्रिय ब्यान्डहरूले प्रस्तुति दिनेछन् ।
