काठमाडौँ — मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी र त्रिभुवन तथा विश्वविद्यालयका प्रा. डा. केदारप्रसाद रिजालले समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारीअनुसार विद्यार्थीहरूलाई शैक्षिक सशक्तीकरणका लागि इन्टर्नसिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ । यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरूमार्फत उपलब्ध गराइने छन् । यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’का लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने उल्लेख गरिएको छ ।
समझदारीअनुसार संघको संस्थागत उद्देश्य पूरा गर्न त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ । यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कार्यमा सहयोग पुर्याउने जनाइएको छ । यस्तै, औद्योगिक, आर्थिक, वातावरणीय नीति तथा आपूर्ति श्रृंखलाको सुधारमा समेत टेवा पुर्याउने विश्वास दुवै संस्थाको रहेको छ ।
त्यस्तै, उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान–प्रदान गर्न जनशक्ति उपलब्ध गराउने समझदारी पनि भएको छ । यसले विविध विषयमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्याउने उल्लेख गरिएको छ ।
उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्नेछन् । तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने तथा मोरङ उद्योग वाणिज्य संघ र त्रिभुवन विश्वविद्यालयमा प्रकाशित गर्ने उल्लेख गरिएको छ ।
त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान तथा प्रसारण गर्न विषयगत विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउनेछ ।
छ सयभन्दा बढी उद्योग आबद्ध निजी क्षेत्रको पहिलो व्यावसायिक संस्था मोरङ उद्योग वाणिज्य संघको आफ्नै व्यावसायिक सञ्जाल विस्तार भएको छ । समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य संघहरूसँग पनि समन्वय तथा सहकार्य गर्ने अध्यक्ष राठीले बताए ।
संघका अनुसार यस सहकार्यले उद्योग–शिक्षा सम्बन्धी अनुसन्धान तथा वातावरणीय प्रयोगशाला विश्लेषणसमेत गर्नेछ । त्रिविले आफ्ना विद्यार्थी तथा संकाय सदस्यहरूलाई अनुसन्धान गतिविधिमा संलग्न गराउने र संकाय सदस्यहरूले विद्यार्थीहरूलाई आवश्यक परामर्श दिने जनाइएको छ ।
