काठमाडौँ — एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोभेसन अवधारणा ‘एफेक्सनेट इन्टेलिजेन्स’ लाई विशेष दुईदिने कार्यक्रममार्फत सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको हो ।
जहाँ प्रविधिले प्रयोगकर्तालाई बुझ्न मात्र होइन, उनीहरूको ख्याल पनि राख्ने जनाइएको छ । एफेक्सनेट इन्टेलिजेन्स आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति राखिएको विशेष दृष्टिकोण हो, जहाँ एआई केवल बुद्धिमान् नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्ध अझ घनिष्ठ बनाउने एलजीले जनाएको छ ।
साथै, एलजीले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै एक ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उनीहरूको योगदानको प्रशंसा गरे ।
