नेपाल-भारतबीच व्यापार र लगानी प्रवर्द्धन गर्न समझदारी

असार १५, २०८२

कान्तिपुर संवाददाता

Agreement to promote trade and investment between Nepal and India

काठमाडौँ — नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसी व्यापार, लगानी तथा सीमापार व्यापार प्रवर्द्धन गर्न संयुक्त रूपमा काम गर्ने समझदारी गरेको छ । 

निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकी महाप्रबन्धक ज्योति विजद्वारा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको समझदारीका अनुसार दुवै संस्थाले व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, गैरगोप्य सूचनाको साझेदारी र संयुक्त प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नेछन् । समझदारी अनुसार निक्की नेपालका लागि फिक्कीको विशेष साझेदारका रूपमा रहनेछ भने फिक्की भारतका लागि निक्कीको विशेष साझेदार रहनेछ ।

समझदारीमा दुवै पक्षले व्यापार र लगानीसम्बन्धी विविध प्रकाशन र तथ्यांकहरु नियमित रूपमा आदानप्रदान गर्ने पनि उल्लेख छ । 'हामी प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्त कार्यक्रम आयोजना गर्नेछौं र नेपाल तथा भारतका व्यवसायीहरूबीच प्रतिनिधिमण्डलको आदानप्रदानलाई सहयोग गर्नेछौं,' निक्कीका अध्यक्ष  केसीले भने 'हाम्रो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण तथा आर्थिक बिकास एवं चासोका नयाँ क्षेत्र पहिचान गर्न प्रकाशन आदानप्रदान समेत समेट्नेछ ।'

फिक्कीकी महानिर्देशक ज्योति विजले पनि आर्थिक सम्बन्धलाई सुदृढ बनाउने दुवै संस्थाको साझा जिम्मेवारी रहेको बताइन् । 'हामी आ-आफ्नो देशका प्रमुख व्यवसायिक संस्थाका रूपमा भारत र नेपालबीचको व्यापार तथा लगानी सम्बन्ध बलियो बनाउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं,' उनले भनिन् ।

नयाँ दिल्लीमा मुख्यालय रहेको फिक्कीमा सार्वजनिक तथा निजी क्षेत्रका २ लाख ५० हजारभन्दा बढी कम्पनीहरू आवद्ध छन् । नीति सुधार, आर्थिक वृद्धि, नवप्रवर्तन र लगानी प्रवर्द्धनमा यसले अग्रणी भूमिका खेल्दै आएको छ । यो सम्झौताले दुई दक्षिण एशियाली छिमेकी देशबीचको लामो समय देखिको आर्थिक अन्तरनिर्भरतालाई औपचारिक बनाएको छ ।

दुवै संगठनले सीमापार कारोबारमा भइरहेका चुनौतीहरू समाधान गर्दै नयाा सम्भावनाहरूको उपयोग गर्न नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । निक्कीका सदस्यहरूले नेपालको व्यापार र अर्थतन्त्र विस्तारका लागि फिक्कीका सबै स्रोत र नेटवर्कको प्रयोग गर्न सक्नेछन् ।

सम्झौताअनुसार दुवै चेम्बरहरूले नेपाल र भारतबाहेक बीबीआइएन र बिमस्टेक क्षेत्रका सहकार्यमा समेत काम गर्नेछन् ।'हामी अब निक्की–फिक्की ट्रर्याक १.५ पहल सुरु गर्दैछौं, जसमा दुवै संस्था तथा सरकारका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस पहलले लगानी प्रवर्द्धन गर्ने र हाल नेपालमा बढेको लगानीको आकांक्षालाई पूर्ति गर्न मद्दत गर्नेछ,' केसीले भने ।

कान्तिपुर

Link copied successfully