आईएमई ग्रुपले सञ्चालनमा ल्यायो फाइबर सिमेन्ट बोर्ड उद्योग 

असार १२, २०८२

कान्तिपुर संवाददाता

IME Group launched fiber cement board industry

काठमाडौँ — आईएमई ग्रुपको डेढ अर्ब लगानीमा अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग उद्घाटन गरे ।

मन्त्री भण्डारीले उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनलाई औपचारिक रूपमा सार्वजनिकसमेत गरे । 

स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला भएको मन्त्री भण्डारीको भनाइ छ । उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उनले जनाए । 

स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिने पनि उनको भनाइ छ ।

आईएमई ग्रुपअन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापित उद्योग रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ । उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगमा दुई सय जनाले रोजगारी पाएको बताइएको छ । यसमा ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेको उद्योगले जनाएको छ । 

कान्तिपुर

Link copied successfully