विदेशमा लगानी गर्न कानुनी बाटो खोलेकोमा नास-आईटीको स्वागत

असार १०, २०८२

कान्तिपुर संवाददाता

Hailing NAS-IT for opening legal avenues to invest abroad

काठमाडौँ — सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न कानुनी बाटो खुलाउने नीतिगत निर्णयको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले स्वागत गरेको छ ।

यो पहल ‘प्रविधि उद्योगका लागि ऐतिहासिक सफलता’ भएको प्रतिकृयासमेत दिएको छ । नास-आईटीको विज्ञप्तिअनुसार विदेशमा नेपाली सूचना प्रविधि कम्पनीको उपस्थिति विस्तार गर्न यो निर्णयले मार्ग प्रशस्त गर्नेछ ।

विगत केही वर्षदेखि नीतिगत सुधारको माग गरिँदै आएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले २०७८ सालको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै यस्तो नीति ल्याएको हो । असार ४ मा प्रकाशित नयाँ व्यवस्थाले नेपालको सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्न कानुनी बाटो खोलिदिएको थियो ।

नयाँ व्यवस्थाअनुसार विनियमावलीको परिच्छेद ५(क) अन्तर्गत विगत तीन आर्थिक वर्षदेखि निरन्तर सूचना प्रविधि सेवा निर्यातबाट विदेशी मुद्रा आम्दानी गर्दै आएका कम्पनीलाई विदेशमा लगानी गर्न आवश्यक विदेशी मुद्रा उपयोग गर्न अनुमति दिइनेछ । उक्त लगानी सीमा कम्पनीको पछिल्ला तीन वर्षको औसत विदेशी मुद्रा आम्दानीको ५० प्रतिशत वा अधिकतम १० लाख अमेरिकी डलर (वा सो बराबरको अरू विदेशी मुद्रा) मध्ये जुन कम हुन्छ, त्यतिसम्म कायम गर्न पाउनेछन् ।

नास-आईटी र प्रविधि क्षेत्रले नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न, सञ्चालन क्षमता बढाउन र नेपाललाई विश्वसनीय आईटी हबको रूपमा स्थापित गर्न यस्तो नीतिको आवश्यकता औंल्याउँदै आएका थिए । नास-आईटीले राष्ट्र बैंक र सरकारलाई धन्यवाद दिँदै यस निर्णयले नेपाललाई विश्वसनीय आईटी गन्तव्य बनाउने दिशामा अघि बढाउने जनाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीका लागि लामो समयदेखिको अवरोध हटाएको नास-आईटीको ठहर छ ।

कान्तिपुर

Link copied successfully